मृत्युशैय्यामा तड्पिरहेका हजारौंलाई जीवनदान दिन सफल प्रा.डा. उपेन्द्र देवकोटा आज आफैं मृत्युसँग पौंठाजोरी खेल्दै जन्मथलोको मातृस्नेहभावी जलले आफ्नो हृदयमात्र सर्साएनन् देशभक्तहरुमा स्वदेशको ममता सिँचन गरिदेखाए, यो प्रसङ्गले वहाँप्रति हार्दिक नमन गर्न मन नपल्हाउने को होला र ?
डाक्टरसाहेव ! मातृभूमिको जलले तपाईंलाई अमृतको काम गर्नेछ, अब कुनै यमदूतको केही दैया चल्नेछैन । कदाचित् यमलोकमा तपाईंका लागि ठाउँ बनाएरै आएका रहेछन् भने पनि मन नदु:खाउनुहोस्, हामी जान तत्पर छौं । किनभने, यहाँ अरु धेरैको जीवन बँचाउनै बाँकी छ, तपाईंका उत्तराधिकारीहरुलाई खुलस्त पारेर जिम्मेवारी सुम्पनै बाँकी छ । लोकगायक पुरुषोत्तम न्यौपानेले गाएकाछन् – को बस्छ र धर्तिमा सँधै, बैना मार्छ मृत्युले जन्मँदै … त्यस्तै तपाईं पनि जुगानुजुग रहिरहनुहोस्, यो त हाम्रो पनि धृष्टता ठहर्नेछ । तर अहिले यो अप्रत्यासित र असामयिक मृत्युवरण गर्ने छुट तपाईंलाई छैन ।
तपाईं कृत्रिम औषधिको सहारा भाँचिएर अपाङ्ग बनेको नठान्नुहोस् । आमाहरुको हियारा छिचोलेर सिस्नेधाराहरुबाट खसेको अमृतजलको औषधीय गुण समस्त धरामा प्रचार गर्न पनि तपाईं जिउनुपर्छ । विवशताको घुम्टोमा द्रव्यपिशाची मुना मनमा पन्पाउँदै विदेश पलायन भएकाहरुलाई तपाईंको सुविधासम्पन्न अस्पतालको उपचारबाट जन्मभूमि फर्कने रहरले उँधोमुन्टो लगाएर सोच्न बाध्य पारेकोछ । तपाईं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पदार्पण गरी मातृभूमिलाई नमन गर्दै एकचिम्टी माटो उठाएर लगाएको मृतिकाविभूतिको तिलक सच्चा नेपालीको हृदयमा अमीट रहेकोछ र अनुपम प्रेरणाको स्रोत बनेकोछ – यसमा पनि ध्यान पुर्याउनु पर्नेछ तपाईंले । फेरि गोर्खाको पालुङटार नगरपालिका-४, बोहोरागाउँस्थित आफ्नो जन्मघरको पिंढीमा अडेसिएपछि तपाईंको अनुहारमा प्रकटिएका आत्मसन्तुष्टिका भावहरुबाट सारा धर्तिमा ‘जननी जन्मभूमिश्च स्वर्गद्वपि गरियसी’ को सन्देश फैलाउन पनि मर्न पाउनुहुन्न र मर्नुहुन्न डाक्टर ! हामी तपाईंको पछाडि लामबद्ध छौं ।
प्राकृतिकताबाट टाढिएर, मानवीयभाव स्खलित गरेर, भौतिकताको आडमा आध्यात्मिकता पन्छाएर, जन्मजनित सेवाभावलाई मेवाभावमा परिभाषित गरेर बिग्रिसक्न थालेको यो धर्तिमा विक्रितिको रोगमा मल्हमपट्टि गर्नै पर्ने भैसकेकोछ । यसका लागि कुनै ‘सेलिब्रेटी’बाट सन्देश प्रवाह गर्नु उपयुक्त ठानी चराचर जगतमातापिताले रचेको नाटक हो यो, तिमी आत्तिन जरुरी छैन – डाक्टर । नत्र तिमीले के त्यस्तो गरेथ्यौ हाम्रो पिठिमपरी र किमोथेरापीले उल्टै क्यान्सर सेल बढायो ? अनि किन तिमेरले त्यसका प्रतिपादकलाई ठूलाठालु ठान्न लगाएका छौ त हामीजस्ता सोझासाझालाई ? के तिमीले दुनियालाई उपचार गर्दा त्यही ऐलोपेथी दबाइ नै हैन र प्रयोग गर्ने गरेको ? बेलायतको ऐयासी अस्पतालको सेवामा तुष्टि पाउन नसकेर स्वदेशमा फर्किन्छु भनी विमानस्थलमा पदार्पण गर्दा धर्तिमातालाई नमस्कार गरी एकचिम्टी माटो निधारमा घसेको बनावटी लेपन हो ? के तिम्रा नाउँमा सारा नेपालीले सट्टाजीवन दिन खोजेकोबाट कुनै ‘औरा’ नबनेको होला ? अनि त्यसको सुनुवाइ नगरेर यमराजलाई धर होला त ? अहँ ! हामीलाई विश्वास छैन देवकोटासर ! हामीले उल्लेखेका यी व्यहोराहरु नक्कली हैनन् । यो त तिम्राउपर प्रकृतिले गरेको सजीव प्रयोग हो, नआत्तिय डाक्टर ! तिमी यति चाँडै हामीलाई छाडेर जानसक्ने छैनौ ।
बरु तिमीले शिरोधार्य गरी सम्मान गरेको हाम्रो मातृभूमिमा नभएको तेही समुद्रसतहबाट ७२ मीटरसम्मको भूभाग न हो । त्यसपछि सर्वोच्च शिखरसम्मको हिमाल, पहाड, तराईका हाम्रा भूभागमा नपाइने वनस्पति नै के छ र ? ‘नौषधं वर्तते मूलं …’ भनेकैछ हाम्रो आदिशास्त्रले । जरिबुटिविज्ञहरुले सुझाइदेऊ, सिस्नेधाराको पानी जरिबुटी थिचेर, साँधेर कपडछान गरी खाऊ । अँ ! हिमालतिर ‘यार्सागुम्बा’लाई “जीवनबुटी” पनि भनिन्छ, बिहान-बेलुका एकुन्टा खाने गर त ! त्यतातिर मानवजीवनमा जुनसुकै असञ्च भएपनि यार्सा खाएपछि सञ्च हुने भएकोले नामै जीवनबुटी राखेकाछौं हामीले ।
मातृभूमि, जन्मथलो, छर-छिमेक, बालसखा, बाल्यकालको हावापानी र माटोसँगको मिलापत्र मानव जीवनका सबैभन्दा बहुमूल्य निधि हुन् । यिनीहरुको बिमोहमा पन्पिएको नेपालीपनमा कृत्रिम रुपमा प्रवेशिएर भौतिकताले मान-मर्यादा, रीति-रिवाज, मूल्य-मान्यतामा ल्याउँदै गरेको स्खलनलाई तिमीमार्फत् उपचार गर्न-गराउन आध्यात्मिकताले गरेको शक्तिप्रदर्शन हो । नआत्तिय डाक्टरसाहेव ! तिम्रा भावना, विचार, सेवा सच्चा थिए, जसको निरन्तरताको खाँतिर तिम्रै तन र मन मार्फत् उल्लिखित अमूल्य निधिहरुप्रति मोह जगाउन गरिएको प्रकृतिक खेल हो/हुनसक्छ । हामी सबैको चाहना र कामनाका बलले पनि तिमीलाई मर्न दिंदैन । बरु थाकेकै भए, सिस्नेधाराको पानीसँग जीवनबुटी खाऊ, नागकाथान वरिपरिको पवित्र माटो लेपन गरी पिपलका फेदमा सुस्ताऊ तर हामीलाई छोडेर जान कसै पाउँदैनौ ।
(तीलक बि’पोजेटिभ) कीर्तिपुर-२, अमृतनगर, काठ्माडौं ।