Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कठघरामा महतो : नाकाबन्दी हामीले गरेका थियौँ, टाउको मेरो फुटेको थियो, मोदीको त फुटेको थिएन ! – Rabin's Blog
Saturday, April 27, 2024

कठघरामा महतो : नाकाबन्दी हामीले गरेका थियौँ, टाउको मेरो फुटेको थियो, मोदीको त फुटेको थिएन !

अभियोग : १

मधेसका जनतालाई आफूअनुकूल प्रयोग गर्न जस्तोसुकै हथकण्डा पनि अपनाउनुहुन्छ । मधेस आन्दोलनका वेला प्रत्येक सहिद परिवारलाई ५० लाख दिने घोषणा गर्नुभयो । आवश्यकता पर्दा जनतालाई गोली खानसमेत उत्तेजित गरेर अहिले जिम्मेवारीबाट पन्छिनुभएको छ । प्रदेश २ मा तपाईंहरूकै सरकार छ, तर सहिद परिवारलाई घोषणा गरिएको रकम दिनेबारे केही बोल्नुहुन्न ।

पहिलो कुरा त जनतालाई मात्रै गोली खान सडकमा उतार्ने नेता म होइन । आफू पनि जनतासँगै सडकमा गोली खान तयार हुने नेता हो । जनतासँगै गएर सडकमा गएर कुटाइ खाने, टाउको फुटाउने नेता हो । आफू घरमा बसेर कार्यकर्ताको मात्रै टाउको फुटाउने नेता होइनँ ।

मधेस आन्दोलनको जुन कुरा गर्नुभयो, त्यतिखेर ६ महिनासम्म कठोर संघर्ष भयो, आन्दोलन भयो । त्यो आन्दोलनमा पनि म प्रत्यक्ष रूपमा जनता र आन्दोलनको बीचमा रहेँ । र, सबै प्रकारको ‘रिस्क’ मैले लिएको थिएँ ।

जुनसुकै वेला गोली पनि लाग्न सक्थ्यो । यद्यपि, गोली त लागेन । तर, टाउको फुटाइयो । विराटनगरमा राज्यले ममाथि जानलेवा हमला ग-यो । भाग्यले बाँचेँ । जनताको सद्भाव–शुभेच्छाले बाँचेँ । त्यसकारण तपाईंले भनेजस्तो स्वार्थका लागि जनतालाई गोली खुवाउने काम मैले कहिल्यै गरिनँ ।

जहाँसम्म आन्दोलनमा सहिद भएकाको परिवारलाई ५० लाख दिने घोषणाको कुरा छ । त्यो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णय हो, राजेन्द्र महतोको एकल निर्णय होइन । त्यतिवेला हामीले ‘यो मोर्चाको सरकार बनेपछि सहिद परिवारलाई ५० लाख दिन्छौँ’ भनेका थियौँ ।

अहिले पनि त्यो कुरा हामी सम्झिरहेका छौँ । प्रदेश नम्बर २ मा हाम्रो सरकार बनेको छ । त्यो सरकारले पहिलो निर्णय नै गरेको छ कि ‘मधेस आन्दोलनको सहिद परिवारलाई सम्मान–सहयोग गर्ने, प्रत्येक सहिद परिवारबाट एकजनालाई रोजगारीको व्यवस्था गर्ने र सहिदका बालबालिकाको शिक्षा–दीक्षाको व्यवस्था गर्ने ।’

सहिद परिवारलाई ५० लाख दिने घोषणा अझै कार्यान्वयन गर्न सकिएको छैन । बजेटको समस्या छ । प्रदेश सरकारसँग बजेट छैन, केन्द्र सरकारले दिए मात्रै हुने अवस्था छ । जब प्रदेश सरकार स्रोतसाधनसम्पन्न हुन्छ त्यतिवेला हामी त्यो घोषणाअनुसार दिन्छौँ ।

अभियोग : २

तपाईं भारतपरस्त हो । मधेसका जनताले सिंहदरबारसँग प्रश्न गर्नु र अधिकार माग्नु स्वाभाविक हो । तर, तपाईंसहितका नेताहरूले मधेस आन्दोलनका वेला दिल्लीका ठूला नेता मात्रै होइन, भारतमै ‘फेजआउट’ र बद्नाम भइसकेका बिहारका नेता लालुप्रसाद यादवको आँगनसमेत चहार्नुभयो ।

मधेस आन्दोलन न पहिलो आन्दोलन हो न अन्तिम आन्दोलन । मधेस आन्दोलनभन्दा पहिले पनि यो देशमा कति आन्दोलन भए कति । लोकतान्त्रिक आन्दोलन भयो, त्योभन्दा अघि राजा त्रिभुवनको आन्दोलन भएको थियो ००७ सालमा ।

राणाहरूले जब अत्याचार गरे राजा त्रिभुवन दिल्ली दरबारको शरण लिन गएका थिए । त्योचाहिँ भारतपरस्त काम भएन । त्यसपछि पटक–पटक लोकतान्त्रिक आन्दोलन भए । ०१९ सालपछि जब प्रजातन्त्रको हत्या भयो, त्यसपछि पटक–पटक कांग्रेसले आन्दोलन ग-यो, कम्युनिस्टहरूले गरे । ०४६ सालमा आन्दोलन भयो । सब यहाँदेखि दिल्ली दरबारसम्म दौडेको दौड्यै ।

गिरिजाप्रसाददेखि मनमोहन अधिकारीसम्म । ०६२/६३ को आन्दोलनमा समेत हामी सँगै दिल्लीमा महिनौँसम्म गएका थियौँ कांग्रेस, एमालेसहित सातै पार्टीका नेताहरू । हुँदाहुँदै माओवादीले समेत दिल्लीमै शरण लियो, त्यहाँ आन्दोलनको तानाबाना बुन्ने, त्यहाँबाट सहयोग लिने भयो ।

अनि यो सबै राष्ट्रवादी काम भए, मधेसीचाहिँ पटनामा गएर लालुसँग भेटे भने त्योचाहिँ अराष्ट्रवादी भयो ? लोकतान्त्रिक आन्दोलनमा गिरिजाप्रसादसँगै जाँदाखेरि राष्ट्रवादी भइने भयो । आफ्ना लागि, मधेसका लागि दिल्ली र पटना गयो भनेचाहिँ अराष्ट्रिय र राष्ट्रघाती हुने भयो ।

यो मानसिकताको के इलाज छ ? यस्तो आरोपको के इलाज छ ? त्यसैले यो वाहियात र फाल्तु, विनामतलबको कुरा हो । जब–जब जनतालाई दुःख हुन्छ त्यतिवेला छिमेकीसँग नै सबैभन्दा पहिले सहयोग मागिन्छ दुनियाँमा । तपाईंको घरमा आगो लाग्यो भने छिमेकी नै सबैभन्दा पहिले निभाउन आउँछ नि । घरमा केही दुःख प-यो भने छिमेकीलाई नै पहिले थाहा हुन्छ ।

अनि छिमेकीसँग पो सहयोग मागिन्छ । त्यसैले नेपालमा जब–जब केही भएको छ राजनीतिक घटना वा विभिन्न सामाजिक कुनै पनि आपत्विपत्, सबभन्दा पहिले दिल्ली नै दौडेर आउँछ । भनेको मतलब छिमेकीसँग नै सहयोग माग्ने हो । राजनीतिक रूपले पनि जब जनतामाथि अन्याय हुन्छ, राजा त दौडेर दिल्ली गए सहयोग माग्न ।

प्रत्येक कालखण्डमा प्रत्येक नेता, त्यतिवेलाका आन्दोलनकारी नेताहरू भारतमा दौडेर गएका छन् सहयोग माग्न । छिमेकी भएकाले सबभन्दा नजिकमा सहयोग मागिन्छ, त्यो सहयोग मधेस आन्दोलनमा हामीले पनि मागेकै हो । सारा दुनियाँसँग पनि माग्यौँ, दिल्लीसँग पनि माग्यौँ, पटनासँग पनि मागेकै हो । अरू वेलाको सब ठीक, अनि मधेसीले आफ्ना लागि भन्न गए भनेचाहिँ बेठीक ? यो आरोप सरासर गलत हो, यस्तो वाहियात आरोप लागेर काम छैन । यो बेइमानी हो ।

अभियोग : ३

नेपाल–भारत सम्बन्ध बिगार्न पनि तपाईंको भूमिका छ । अघिल्लोपटक भारतीय प्रधानमन्त्री नेपाल आएर संसद्मा सम्बोधन गर्दासम्म दुई देशको सम्बन्ध ठीकै थियो । तर, नेपालमा नाकाबन्दी गर्न उक्साएर भारतलाई पनि फसाउनुभयो । र, आफूहरूले पनि भारतको विश्वास गुमाउनुभयो ।

यो आरोप पूरै गलत छ । कुनै दम छैन यसमा । नेपालका केही खोकला राष्ट्रवादी र गैरजिम्मेवार व्यक्तिहरूको ‘सहयोग गर, तर सल्लाह नदेऊ’ भन्ने बानी छ । तर, सहयोग गर्नेले सल्लाह पनि दिन्छ । नेपालमा जब–जब थिचोमिचो भएको छ, भारतले सहयोग र सल्लाह दुवै दिँदै आएको छ । जब–जब नेपालमा संकट पर्छ, यहाँका शासकवर्गले, जनताले, आन्दोलनकारीले भारतसँग सहयोग र सल्लाह दुवै लिने गरेका छन् ।

अरू वेला लिएको सब ठिक छ, कहीँ केही भएन । तर, जब मधेसका लागि लिइयो त्यो शासकवर्गलाई पचेन । जो शासकवर्ग वेला–वेला गएर घुँडा टेकेर सहयोग–सल्लाह लिने गरेको थियो, त्यसलाई समेत पचेन । उनीहरूले माग्दाखेरि सबै ठीक ।

हामीले मधेसका लागि माग्दाखेरि चाहिँ राष्ट्रविरुद्धमा भयो । त्यही कारणले भारतसँग सम्बन्ध बिगार्ने काम पनि यहाँ भयो । नाकाबन्दी त हामीले न गरेका थियौँ । टाउको त मेरो पो फुटेको थियो, नरेन्द्र मोदीको त फुटेको थिएन ।

मधेसी मोर्चाले निर्णय गरेर नाकाबन्दी गरेको थियो । तर, भारतले नाकाबन्दी ग-यो भनेर मधेसको आन्दोलनलाई खत्तम गरिदियो । हाम्रो नाकाबन्दी कार्यक्रमलाई ‘डाइभर्ट’ गरिदियो । भारतको नाम दुनियाँभरि प्रचार गरिदिएपछि मधेसको माग त सुन्नैपरेन नि ।

खोकला राष्ट्रवादी भएपछि मधेसका माग, आन्दोलन चौपट हुने भयो । उल्टो हामीले भारतसँगको सम्बन्ध बिगारेको आरोप लगाए । त्यतिवेला शासकवर्गले बेइमानी गरेको हो । भारतलाई पनि बद्नाम गरियो, हाम्रो माग पनि पूरा गरिएन । इतिहासबाट यो कसैले लुकाएर लुक्नेवाला छैन । इतिहास बडो निर्मम हुन्छ ।

अभियोग : ४

तपाईं मधेसीबाहेकका समुदायप्रति सहिष्णु हुनुहुन्न । मधेस आन्दोलनका वेला पहाडिया समुदायलाई तथानाम गाली गर्नुभयो ।

नेपालका कतिपय मिडिया र सामाजिक सञ्जाल दुर्भावनाबाट प्रेरित छन् । जसले भए–नभएको कुरा पनि लेख्ने र प्रचार गर्ने गर्छन् । यसो हुनुको खास कारण छ– म अधिकार प्राप्तिको लडाइँमा जहिले पनि खरो बोल्ने मान्छे हुँ, लटरपटर बोल्दिनँ । शासकवर्गले ग-यो भने शासकवर्ग भन्छु । त्यो शासकवर्ग भनेको खसवादी हो, त्यो पनि म भन्छु ।

खसवादीभित्र कुन जाति पर्छ, त्यो पनि म भन्छु । र, जातिको नाउँ पनि म उच्चारण गरिदिन्छु । खसवादीले मधेसी, जनजाति, मुस्लिम, थारू, हिमाल–पहाडमा अन्यायमा परेका, शोषणमा परेका गरिब, दलित र जनजातिलाई अन्याय ग-यो, सबै ठाउँमा कब्जा ग-यो भनेर म भन्छु । गरेकै हो त किन नभन्ने ?

यो कुरा त म ‘टु दी प्वाइन्ट’ पहिचान गरेर फलानाले ग-यो भनेर भन्छु । पूरै समुदायले त गर्दैन, तर त्यही समुदायभित्रका मान्छेले गरिरहेका छन् । त्यसको नेता जो लिडरसिपमा हुन्छ हामीले त्यसलाई भन्ने हो । अब केपी ओलीले हामीलाई आन्दोलनका वेला बिहार युपी देखाएपछि उहाँलाई नभनेर कसलाई भन्ने ?

केपी ओलीले आन्दोलनका वेला ‘दुई–चारवटा आँप झर्दैमा केही हुँदैन’ भन्नुभयो । मधेसी जनताको मानव साङ्लोलाई ‘माखेसाङ्लो’ भन्नुभयो । अनि, हामीले उहाँलाई नभनेर कसलाई भन्ने ? पछि, गएर त ओलीले स्पष्टीकरण पनि दिनुभयो । ‘यसको अर्थ यो हो, यो प्रयोजनका लागि मैले भनेको थिएँ, मधेसी जनतालाई होच्याउने, गाली गर्ने उद्देश्यले मैले भनेको होइन’ भनेर स्पष्टीकरण पनि दिनुभयो ।

तर, जतिवेला उहाँले बोल्नुभयो, त्यतिवेला त्यही अर्थ लाग्यो मधेसमा । म मधेसी जनताको नेता हुँ । जनतालाई अपमानित हुने कुराको मैले प्रतिकार त गर्नुप-यो नि । जवाफ त दिनुप-यो नि । मुखमा गुलाबजामुन राखेर बोल्ने मान्छे त म होइन ।

मैले त्यस्तो बोलेपछि शासकवर्गीय समुदायले या जसको हातमा कलम छ, मिडिया छ, उसले पनि व्यक्तिगत रूपमा लिँदो रहेछ । लिन त नहुने हो, तर मिडियापर्सनले त्यसरी लिइदिँदा ममाथि थप आक्रमण हुन्छ । गोबरमाटी लगाएर मलाई कुरा गर्न आउँदैन ।

जे देख्छु, त्यही भन्छु । सत्य मीठो हुँदैन, कडवा नै हुन्छ । यो मुलुकमा मधेसीप्रति विभेद छ । त्यो विभेद कसले ग-यो त्यो म भन्छु । विभेद गर्ने वा त्यस्तो मानसिकता बोकेकालाई नराम्रो लाग्छ र मलाई गाली गर्छन् । त्यही आधारमा रियाक्ट पनि गर्छन् ।

अभियोग : ५

मधेस आन्दोलन टुंगोमा नपुग्दै तुहिनुमा तपाईंको मुख्य भूमिका रह्यो । तपाईंका चर्का र तीता अभिव्यक्तिका कारण आन्दोलन कमजोर बनेर तुहिएको ओराप मधेसी नेताहरूले नै लगाए । मधेसी मोर्चाले त निर्णय नै ग-यो ।

त्यो त जलन हो । हाम्रै साथीहरूले ममाथि त्यस्तो आरोप लगाए । तर, त्यो आरोप मिथ्या थियो, गलत थियो । नाकाबन्दीका सन्दर्भमा यो कुरा उठेको हो । नाकाबन्दीमा मेरो अहं भूमिका थियो । नाकाबन्दी हुनुअघि नै मैले रिपोटर्स क्लबमा बोलेको थिएँ, ‘अधिकार देऊ, नत्र काठमाडौंको दानापानी बन्द हुन्छ ।’

काठमाडौं भनेर मैले कुनै वर्ग, समुदाय, जातिलाई भनेको थिइनँ, राज्यलाई भनेको थिएँ । तर, त्यसको अर्थ मिडियामा ‘पहाडीको दानापानी बन्द’ भनेर लगाइयो । पहिलो अन्याय ममाथि त्यहीँ भयो ।

आन्दोलनमा जब ४० दिनसम्म अन्धाधुन्ध गोली चलाइयो, दर्जनौँ मान्छे मार्ने काम भयो अनि बाध्य भएर हामी नाकामा गएर बस्ने अवस्था आयो । ठ्याक्कै मैले काठमाडौंमा भने जसरी नै मोर्चाले नाकाबन्दी गर्ने निर्णय गरिदियो ।

यस्तो अवस्था आउन सक्छ भनेर मैले अनुमान गरेको थिएँ, नभन्दै त्यस्तै अवस्था आयो । नाकाबन्दी पनि यसैले गरायो भन्ने भयो । स्वाभाविक रूपमा नाकाबन्दीबाट जनतालाई दुःख भयो, दैनिक जीवनमा कठिनाइ भयो । काठमाडौंको राज्यसत्तालाई अधिकतम दबाब दिनकै लागि मोर्चाले नाकाबन्दी गरेको थियो ।

हाम्रो अपेक्षा के थियो भने अब काठमाडौंका जनताले पनि ‘मधेसको माग सम्बोधन गर’ भनेर राज्यलाई दबाब दिनेछन् । तर, दुर्भाग्य त्यो हुन सकेन, हामीले सम्झाउनै सकेनौँ । बरु, खोकला राष्ट्रवादीहरूले अर्को माहोल बनाइदिए । उल्टै हाम्रो विरुद्धमा माहोल बन्यो । हुँदाहुँदै नाकाबन्दीको मुख्य योजनाकार राजेन्द्र महतो हो भनेर मेरो सिनामंगलको घरमा ढुंगामुढा गरियो ।

आन्दोलनमा सबैभन्दा बढी भूमिका जसको हुन्छ, जस–अपजस पनि उसैले पाउँछ । आन्दोलनको जस पनि मैले नै पाएँ । नाकाबन्दीका क्रममा वीरगन्ज नाका मेरो नेतृत्वमा थियो, अरू नाका अरू नेताहरूको नेतृत्वमा । अब वीरगन्ज पूर्ण रूपले ठप्प भयो, अरू नाका सुचारु रहे ।

जसले वीरगन्जवासी नै समस्यामा पर्ने, त्यहाँका उद्योग–कलकारखाना ठप्प हुने अवस्था आयो । अन्यत्रका नाका त खुला थिए । त्यतिवेला मैले बाध्य भएर मोर्चाका साथीहरूलाई भन्नुप-यो, ‘नाका बन्द गर्ने हो भने निर्णयअनुसार आ–आफ्नो नेतृत्वका सबै नाका बन्द गर, होइन भने वीरगन्ज मात्रै किन बन्द गर्ने ?’ अरू नाका बन्द गर्न सक्ने अवस्था थिएन, वीरगन्ज पनि खोल्यौँ ।

जनताले बन्द गरेका थिए, जनताले खोले । त्यसपछि मोर्चाकै नेताहरूले मलाई आरोप लगाउन थाले । नाकाबन्दी एउटा प्रयोजनका लागि गरिएको थियो, त्यो प्रयोजनअनुसार काम नभएपछि वीरगन्ज नाका पनि खोल्नुपर्छ मैले भनेकै हुँ । त्यही कारणले मोर्चाका साथीहरूले मेराविरुद्ध एउटा निर्णय गरे । त्यसले मलाई कुनै फरक परेन, जनताले नै अस्वीकार गरिदिए ।

अभियोग : ६

मुलुकभित्रका फरक समुदायप्रति असहिष्णु हुने मात्रै होइन, स्वार्थ नमिल्दा छिमेकी देशसँगको सद्भाव खलबल्याउनेसम्मका काम गर्न पनि पछि पर्नुहुन्न । मधेस आन्दोलनका वेला सुनसरी र बारामा चीनको झन्डा नै जलाउन लगाउनुभयो ।

योचाहिँ गलत हो । झन्डा जलाउनु नै गलत हो । दुभाग्य के हो भने मधेसका हाम्रा कतिपय मित्रहरू कसरी राजेन्द्र महतोलाई गाली गर्ने र बद्नाम गर्ने भन्नेमा लागे । यस्तो धन्दा मधेसमा पनि हुँदो रहेछ । झन्डा जलाएको हल्ला पनि मधेसी साथीहरूले नै गरेका हुन् ।

र, यहाँका केही मिडियाले मेरो नाम मुछ्ने काम गरे । त्यो गलत हो । कुनै पनि राष्ट्रको झन्डा जलाउने, राष्ट्रको विरुद्धमा जाने हुनै सक्दैन । दुनियाँबाट सहयोग पनि लिने अनि उसको झन्डा जलाउने काम त हुनै सक्दैन । त्यतिवेला पनि मैले ‘यो गलत भइरहेको छ’ भनेको थिएँ ।

तर, नियोजित रूपमा नाम जोड्ने काम भयो । तर, यसमा मलाई कुनै चिन्ता छैन । सत्यलाई झुट बनाउन सकिँदैन । केही समयका लागि पर्दा लाग्न सक्छ, धुलो जम्न सक्छ । तर, सत्य त सत्य नै हो नि ।

चीनको झन्डाको सन्दर्भमा पनि त्यतिवेला पनि मलाई आश्चर्य लागेको थियो । मेरो नाम त्यसमा जोडिएको थियो । आन्दोलनमा हाम्रो पार्टीसहित सात पार्टी थिए । जलाउने काममा विभिन्न पार्टीका कार्यकर्ता पनि थिए, जनता पनि थिए । तर, मेरो नाम मात्रै जोडियो ।

त्यो बेइमानी थियो । षड्यन्त्र थियो । खुट्टा तान्ने त पुरानो रोग हो नि राजनीतिमा । मधेसी नेतामा खुट्टा तान्ने प्रवृत्ति झन् धेरै छ । त्यही प्रवृत्तिका कारण सबैजसो नराम्रा काममा मेरो नाम जोडिदिन्छन् ।

अभियोग : ७

मधेस र मधेसीको उत्थानका लागि गजेन्द्रनारायण सिंहले २८ वर्षअघि गठन गरेको सद्भावना पार्टी नेतैपिच्छे स–साना चिरा बने । सद्भावनाप्रति दुर्भावना फैलाउने र चिरा–चिरा बनाउनमा तपाईंको महत्वपूर्ण भूमिका छ ।

पार्टी विभाजन हुनु दुर्भाग्यपूर्ण कुरा हो । यस्ता दुर्भाग्यपूर्ण घटना पार्टी जीवनमा हुन्छ । विगतमा सद्भावना पार्टी व्यक्तिगत स्वार्थका र नीति–सिद्धान्तका लागि पनि विभाजन भएको छ । सद्भावना मात्रै होइन, यो मुलुकका सबै पार्टी पटक–पटक विभाजन भएका छन् ।

एकपटक मुलुकमा प्रतिगमन आएको वेला त्यसको विरुद्ध आन्दोलन गर्न हामीले सद्भावना पार्टी (आनन्दीदेवी) गठन गरेका थियौँ । त्यतिवेला पार्टी नेतृत्व प्रतिगमनविरुद्ध आन्दोलनमा जान तयार नभएपछि बाध्यतावश हामीले आनन्दीदेवी गठन ग-यौँ । र, सातदलीय गठबन्धनमा सामेल भएर आन्दोलनमा उत्रियौँ । आन्दोलन सफल भएपछि फेरि पार्टी एकीकरण ग-यौँ ।

तर, फेरि पार्टी विभाजन भयो । केही साथीहरूले श्यामसुन्दर गुप्तालाई पार्टी जिम्मा लगाउने काम गर्नुभयो । पार्टीभित्र त्यो ठीक भइरहेको छैन भन्ने मेरो निष्कर्ष थियो । हामीबाट पार्टीको ब्यानर, लोगो, चुनाव चिह्न सबै खोसियो । लगभग पार्टी समाप्त गर्ने बाटोतिर लग्न थालियो ।

त्यो कुरा कार्यकर्ताले अस्वीकार गरे । त्यसपछि वीरगन्जमा विशेष महाधिवेशन गरेर हामीले सद्भावना पार्टी गठन ग-यौँ । आर्यघाट पुगेको पार्टीलाई कार्यकर्ताले ब्युँताएर ल्याए । र, यही पार्टी स्थापित भयो । पहिलो संविधानसभामा नौ सिट ल्याएर मुलुकको पाँचौँ ठूलो दल बन्यो ।

यसकारण मेरो नेतृत्व वा सहभागितामा दुईपटक विभाजन भयो । एकपटक लोकतन्त्रका लागि प्रतिगमनविरुद्ध आन्दोलन गर्न र दोस्रोपटक हामीबाट सबै खोसिएपछि पार्टीलाई पुनर्जीवन दिन । कहिलेकाहीँ राम्रा उद्देश्य लिएर यस्ता काममा पनि सहभागी हुनुपर्ने बाध्यात्मक अवस्था आउँछ र मेरो हकमा पनि त्यस्तो भएको छ । व्यक्तिगत स्वार्थका लागि मैले पार्टी विभाजन गरेको छैन र गर्नु राम्रो पनि होइन । ज–जसले गरे उनीहरू सकिएका छन् ।

सद्भावनाको नाम जोडेर गठन भएका त्यस्ता पार्टी कुनै टिक्न सकेनन् । र, गजेन्द्रबाबुले जुन उद्देश्य, मूल्य–मान्यता र सिद्धान्त लिएर सद्भावना पार्टी गठन गर्नुभएको थियो, त्यसलाई ३० वर्षदेखि जोगाउँदै हामी अहिलेसम्म आइपुगेका छौँ ।

अहिले गठन भएको राष्ट्रिय जनता पार्टीको एक प्रमुख स्टेकहोल्डर सद्भावना पार्टी छ र राजपाले पनि गजेन्द्रबाबुको मूल्य–मान्यताहरूलाई बोकेको छ । ज–जसले स्वार्थका लागि पार्टी विभाजन गरे उनीहरू सिद्धिए । मैले पनि त्यसो गरेको भए म पनि सिद्धिन्थेँ । यसकारण मैले सद्भावना पार्टी विभाजनमा भूमिका खेलेको आरोप निराधार हो ।

अभियोग : ८ तपाईं आफूलाई केन्द्रमा राखेर पार्टी चलाउनुहुन्छ । पार्टीभित्र निरंकुशता लाद्नुहुन्छ । यही स्वभावका कारण तपाईंसँग सहकर्मी नेताहरू टिक्दैनन् । श्यामसुन्दर गुप्ता, सरिता गिरी र अनिल झाले तपाईंसँग सम्बन्धविच्छेद गरी नयाँ पार्टी नै बनाए ।

तपाईंले एकदम सटीक कुरा उठाउनुभयो । नेताले नेतृत्व दिन्छ, उसको काम नै नेतृत्व दिने नै हो । नेताले कसैले भनेको गलत कुरापछाडि, कसैको स्वार्थपछाडि लाग्यो भने नेतृत्व दिन सक्दैन । म गर्व गर्छु, एउटा नेताका रूपमा ३० वर्षदेखि सफलता नै पाएको छु ।

तपाईंले माथि जति नेताको नाम लिनुभयो, ती सबै अहिले कहाँ छन्, आफैँ हेर्नुस् । श्यामसुन्दर गुप्ता अहिले जेलमा छ, ऊ गयो । म गलत रहेछु कि ऊ गलत थियो, तपाईं नै बुझ्नुस् । सरिता गिरीजी सँगै हुनुहुन्थ्यो, आफ्नै कारणले जानुभयो । आफ्नै कारणले पार्टी छाड्नुभयो अथवा विभाजन गर्नुभयो ।

आज सद्भावना पार्टी भएको ठाउँमा उहाँ हुनुहुन्न, फोरममा हुनुहुन्छ । म त ठाउँमै छु नि । अनिल झामाथि पनि पार्टीले कारबाही गरेको थियो, उहाँ विभाजनमा जानुभयो । कारबाही ठीक थियो कि थिएन भन्ने इतिहासले मूल्यांकन गर्ने कुरा भयो ।

अनिल झाले पार्टी विभाजन गर्दाखेरि मभन्दा धेरै सिट लगेर गर्नुभएको थियो । तर, जब चुनावमा जानुभयो त्यतिवेला कति सिट आयो ? के हबिगत भयो ? जनताले समर्थन जनाएको र नजनाएको आधारमा त सही–गलतको निर्णय हुन्छ होला नि । म गलत भएको भए त्यही प्रकारको परिणाम आउँथ्यो होला नि ।

तपाईंले नाम लिएकाबाहेक पनि मेरा थुप्रै महत्वपूर्ण साथीहरू छन् जो कम्युनिस्ट पार्टीहरूमा गए । अरू पार्टीमा पनि गएर चुनाव हारेका छन् । ती साथीहरूको नाम तपाईंले पनि लिनुभएन । म पनि लिन चाहन्नँ । त्यसैले आफूलाई केन्द्रमा राखेर म राजनीति गर्दिनँ ।

पार्टीको मूल सिद्धान्त र स्वार्थलाई केन्द्रमा राखेर म काम गर्छु । जब पार्टीको स्वार्थलाई केन्द्रमा राखेर काम गरिन्छ, त्यतिवेला केही साथीको व्यक्तिगत स्वार्थमा कहिलेकाहीँ धक्का लाग्ने गर्छ । त्यो धक्कालाई बर्दास्त गर्न सकेनन् भने ‘रिभोल्ट’ गर्छन् ।

‘रिभोल्ट’ गरे पनि मैले त्यसको पर्वाह कहिले गरिनँ । पार्टीको स्वार्थलाई समातेर बसेँ । कोही साथीलाई मन परेन, उसको स्वार्थमा खरोेच आयो भने ‘रिभोल्ट’ गरेको छ, छाडेर गएको छ । र, फर्केर आएका उदाहरण पनि छन् । यसकारण तपाईंको आरोप सरासर गलत हो ।

पार्टीको सिद्धान्त र स्वार्थलाई केन्द्रमा राखेर काम गर्छु । न कि व्यक्तिगत स्वार्थ बोकेर काम गर्छु । कोही साथी पार्टीको स्वार्थलाई लत्याएर व्यक्तिगत स्वार्थलाई अगाडि बढाएर मसँग सम्झौता गर्न चाहन्छन् भने हुँदैन ।

अभियोग : ९

पद, प्रतिष्ठा र संस्थापनको लिगेसीका लागि तपाईं जुनसुकै स्तरमा पनि उत्रिन सक्नुहुन्छ । तत्कालीन सद्भावना पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि वृद्धा आनन्दीदेवी सिंहलाई लुछाचुँडी नै गर्नुभयो । कहिले एउटा खेमाले त कहिले अर्को खेमाले उहाँको अपहरण गरेर राखेका समाचारसमेत बाहिर आए ।

बिल्कुल ठीक भन्नुभयो । त्यो दुर्भाग्यपूर्ण हो । जब आनन्देवीलाई प्रयोग गर्ने, लुछाचुँडी गर्ने काम भयो, अनि मैले त्यो प्रकरणबाट आफूलाई अलग गरेँ । नेपाल सद्भावना पार्टी आनन्दीदेवीको ब्यानर कसले प्रयोग गर्ने ? अधिकार कसले प्रयोग गर्नेलगायतमा झगडा सुरु भयो ।

श्यामसुन्दर गुप्ता, सरिता गिरीदेखि विभिन्न साथीहरू त्यसमा लागे । अनि, मैले बाध्य भएर नेपाल सद्भावना पार्टी आनन्दीदेवीको ब्यानर नै छोडेँ । सद्भावना पार्टी नामक नयाँ पार्टी गठन गरेँ । नयाँ चिह्न लिएँ । म अदालतको चक्करमा पनि गइनँ र त्यो झगडा–झमेलामा पनि परिनँ ।

गजेन्द्रबाबुले दिएको मूल्य–मान्यतालाई लिँदै सद्भावना पार्टी नाम राखेर म जनताका बीचमा गएँ । र, आफूलाई जोगाएँ । सिद्धान्तलाई जोगाएँ । म त्यसमा परिनँ, साथीहरू परे । तर, त्यसको नेता भएकाले मेरो नाम सद्भावना पार्टीसँग जोडियो ।

सद्भावना पार्टीको संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहकी धर्मपत्नी आनन्दीदेवीलाई साथीहरूले त्यत्रो बेहाल गरिराखेका थिए । त्यसमा मेरो नाम पनि जोडिदिए । तर, त्यसमा म संलग्न थिइनँ । म अलग्गै भएको थिएँ, त्यो झन्झट र लुछाचुँडीमा म परेकै थिइनँ ।

अभियोग : १०

तपाईंमा परिवारवाद हाबी छ । संविधानसभा निर्वाचनमा आफू पराजित भएपछि पत्नीलाई सांसद बनाउनुभयो । पछिल्लोपटक आफन्त पर्ने नरमाया ढकाललाई सांसद बनाउनुभयो ।

३० वर्षको राजनीतिक जीवनमा दोस्रो संविधानसभा निर्वाचनमा जब म आफैँ चुनाव हारेको थिएँ, त्यतिवेला पार्टीका साथीहरूले मेरी श्रीमतीलाई संसदमा पठाउनुपर्छ भनेर दबाब दिए । तपाईंं संसद्मा आउनुहुन्न, संसदकाे गतिविधिबारे अपडेट रहनुपर्छ ।

त्यसका लागि ‘एउटा नजिकको प्रतिनिधि पठाउनुस्’ भनेका थिए । मलाई पनि ठीकै लाग्यो त्यतिवेला । तर, जब पछि रियाक्सन आयो, त्यतिवेला मलाई गल्ती भयो भन्ने लाग्यो । समाजले यस्तो पचाउँदो रहेनछ । नेताको परिवारको मान्छेले राजनीति नै गर्नु हुँदैन भन्ने कुनै विधानमा लेखेको त छैन । परिवारको मान्छे पनि संलग्न हुन सक्छ राजनीतिमा ।

परिवारको मान्छे हुँदैमा त्यसलाई कुनै अवसर दिनु हुँदैन, दण्डित नै गर्नुपर्छ भन्ने मान्यता गलत हो । परिवारको मान्छे पनि राजनीतिमा लाग्न सक्छ । मेरी श्रीमती महिला आन्दोलनमा सुरुदेखि नै लागेकी थिइन् । गजेन्द्रबाबुकै पालादेखि नै लागेकी हुन् ।

महिला मनोनीत गर्नुपर्ने, महिलालाई नै दिनुपर्ने थियो । त्यसमा साथीहरूले ‘उहाँलाई (मेरो पत्नी) अवसर दिए के फरक पर्छ र ? उहाँ पनि लागेकै हो’ भनेर सल्लाह–दबाब दिए । मैले पनि उनकै नाम सिफारिस गरेँ । तर, जतिसुकै योगदान भए पनि परिवारको मान्छेलाई दियो भने परिवारवादको आरोप लाग्ने रहेछ । योचाहिँ गलत हो ।

परिवारको मान्छेको योगदान छ भने परिवारका मान्छेले पनि पाउनुपर्छ । यो मेरो मान्यता हो । तर, यो कुरालाई विभिन्न प्रकारले विरोध गर्नेहरूले गलत अर्थ लगाएर प्रचार गर्दा रहेछन् । व्यक्तित्वमा नै असर पर्ने गरी काम गर्दा रहेछन् परिवारवाद भनेर ।

परिवारबाट राजनीतिमा सहयोग लिने, तर परिवारको मान्छेले अवसर नपाउने ? योचाहिँ बडो अजीव अवस्था हो । म मरेँ भने सबभन्दा बढी दुःख कसलाई हुन्छ ? परिवारलाई हुन्छ । परिवारले त्यो अवसर पायो भने त्यसमा आपत्ति किन गर्ने ? यहाँ कुनै कार्यकर्तादेखि जनतासम्म नेताको अनुपस्थितिमा परिवारको मान्छेले उसलाई हेरिरहेको हुन्छ ।

भनेको मतलब योगदानचाहिँ परिवारबाट लिने, तर रिटर्न कहिलेकाहीँ दिनुप-यो भने पूरा आकाश नै टुट्ने गरी प्रश्न गर्ने ? यो परम्परा, यो चरित्रचाहिँ ठीक होइन । जति राम्रो भए पनि यो समाजले पचाउँदो रहेनछ । र, विरोध गर्नेले अनावश्यक रूपमा गर्दा रहेछन् ।

अर्को, पछिल्लो निर्वाचनमा मधेसी महिलाको सट्टा नरमाया ढकाललाई सांसद बनायो भन्ने आरोप लाग्यो । त्यो कोटा नै खस महिलाको थियो । खस महिला कहाँबाट ल्याउने ? नरमाया ढकालको नाम कुनै साथीले दिएका थिए, बन्दसूचीमा पनि उनको नाम थियो, अनि राखियो । कुनै खसले नै पाउनुपर्ने थियो, पायो । मधेसी समुदायको कोटा काटेर पनि दिएको होइन । यस्ता आरोपको कुनै अर्थ छैन ।

अभियोग : ११

तपाईंंमा पदप्रतिको अथाह आशक्ति छ । सांसद, मन्त्री पटक–पटक हुनुभयो । पछिल्लो लामो समय मन्त्री नहुँदा छटपटाहट बढेको छ । त्यही भएर फेरि सरकारमा सहभागी हुन प्रधानमन्त्री केपी ओलीसँग संवाद सुरु गर्नुभएको छ ।

पद भनेको जिम्मेवारी हो क्या । जिम्मेवारी नलिईकन त काम कसरी गर्नु नि ? जिम्मेवारी त लिनुपर्छ । चुनावमा पनि उठ्नुपर्छ । सांसदको जिम्मेवारी लिन्छु भनेर जनताका अगाडि जाने हो । यही भनेर पटक–पटक जनताका बीचमा गएको छु । कहिले जनताले इन्कार गरेका छन्, कहिले स्वीकार गरेका छन् । कहिले जिम्मेवारी लेऊ भनेका छन्, कहिले नलेऊ भनेका छन् ।

जहिले लेऊ भनेका छन् त्यतिवेला त जिम्मेवारी लिनुप-यो नि । पार्टीले सरकारमा गएर काम गर्नुपर्ने अवस्था छ भने त्यसका लागि पनि तयार हुनुपर्छ । सरकारमा जाँदिनँ भनेर त हुँदै हुँदैन नि । सरकारमा गएर पनि संघर्ष र जनताको काम गर्न सकिन्छ । त्यो पनि प्लेटफर्म हो । त्यसैले जनताले दिए भने पटक–पटक त्यो जिम्मेवारी बोक्नुपर्छ ।

मन्त्रालय पनि आफैँले छान्ने होइन । सरकार बनाउने वेला जे जिम्मेवारी पाइन्छ, त्यही जिम्मेवारी लिने हो । आन्दोलनका लागि, जनताका माग पूरा गराउनका लागि, विकास निर्माणका लागि र पार्टी सञ्चालनका लागि जतिवेला अवसर पाइन्छ, त्यतिवेला जिम्मेवारी लिइन्छ । यो हाम्रो धर्म हो । र, दायित्व पनि हो । जिम्मेवारी नलिने हो भने त राजनीति छाड्नुप-यो नि ।

अहिले सरकारमा सहभागी हुनका लागि कुरा भइरहेको सत्य नै हो । सरकारमा आऊ भनेर केपी ओलीजीले पटक–पटक भन्नुभएको छ । तर, कसरी जानू सरकारमा ? जुन कुराका लागि त्यत्रो आन्दोलन गरियो, त्यसलाई सम्बोधन पनि गर्नुप-यो नि प्रधानमन्त्रीले ।

संविधान संशोधनबारे सरकारको धारणा आउनुप-यो । त्यो प्रस्ट रूपमा नआईकन हामी सरकारमा जान मिल्दैन । सरकारको धारणा आएपछि मात्रै पार्टी सरकारमा जानेबारे सोच्न सकिन्छ ।

अभियोग : १२

तपाईंको नागरिकताको विषयमा पटक–पटक प्रश्न उठ्ने गर्छ । बुबाको नागरिकताको मितिभन्दा पहिला नै तपाईंले नागरिकता बनाएका कुरा पनि सार्वजनिक भए । उपेन्द्र यादवले त सर्लाहीमा भाषण नै गर्नुभयो ।

यो बडो दुर्भाग्यपूर्ण कुरा छ । कहिलेकाहीँ कस्तो मुलुकमा जन्मिएछु भन्ने लाग्छ । खासमा राष्ट्रियताको विषयमा प्रश्न उठाइँदाखेरि चित्त दुख्छ । राष्ट्रियतामा मजाक गर्नुहुन्न क्या । राजनीतिक कुरामा जे–जति आरोप लगाए पनि ठीकै छ, तर राष्ट्रियताको सवालमा आरोप लाग्यो धेरै चित्त दुख्छ । त्यस्तो मान्छेलाई गोली ठोकिदिऊँ जस्तो लाग्छ ।

राजेन्द्र महतो नेपालको धर्तीपुत्र हो । यो धर्तीमा जन्मिएको सन्तान हो । त्यो नाताले नेपालको नागरिक हो । नागरिकताबारे सद्भावना पार्टीले सुरुदेखि आवाज उठाएको छ । मधेसी जनताको नागरिकता समस्याबारे ३० वर्षदेखि आवाज उठाएको हो ।

०५१ सालमा एमालेको नौमहिने सरकारको पालामा नागरिकता समस्या समाधान गर्न धनपति आयोग बनेको थियो । त्यो आयोगमा म सदस्य थिएँ, पार्टीका तर्फबाट । त्यतिवेलादेखि मेरो विषय नै बन्यो नागरिकता । मधेसमा नागरिकताबारे सबैभन्दा बढी लड्ने, बढी बोल्ने व्यक्ति म परेँ ।

अनि यहाँका शासकवर्ग, खोकला राष्ट्रवादी, यहाँका पकिया(खाँटी) भनाउँदा, नेपाली भनाउँदाहरूले मधेसीलाई भारतीय भनिदिए । र, हुँदाहुँदै मधेसीको नागरिकताका लागि सबैभन्दा बढी आवाज उठाउने मलाई नै भारतीय भनिदिए । यति भनेपछि त कुरा सकिहाल्यो नि । उसले उठाएका सब कुरा भारतीयका लागि भनिदिए भइहाल्यो नि । साइक्लोजिकल ट्रिटमेन्ट हो क्या त्यो ।

राजेन्द्र महतोले मधेसको नागरिकताको समस्यामा सुरुदेखि लड्दै आएको हो, उसलाई नै भारतीय भनिदिएपछि उसले उठाएको सब कुरा भारतीयका लागि हुन् भनेर सन्देश दिन त सजिलो भइहाल्यो नि । सुरुदेखि म मार्क गरिरहेको छु, त्यो साइक्लोजीले काम गरेको हो ।

अनुहार पनि मधेसी, नागरिकताको सबभन्दा चर्को आवाज उठाउने । भारतीयलाई नागरिकता दिलाउन वकालत गर्ने राजेन्द्र महतो आफू नै भारतीय हो, कहाँबाट नागरिकता चोरेर ल्यायो, किनेको हो भनिदियो भने त टन्टै साफ ।

नेता नै विदेशी भएपछि यसले आवाज उठाएको सब गलत हो भन्ने इम्प्रेसन राष्ट्र र दुनियाँलाई दिन खोजिएको छ । रेकर्डहरूमा समेत राखिएको अनैतिक काम पनि देखेको छु मैले । राष्ट्रियताको सवालमा यसरी औँला उठाइदिँदाखेरि यो कुनै पनि मुलुकका लागि, कुनै पनि नागरिकका लागि राम्रो हुँदैन । यसले मलाई निकै पीडा दिएको छ ।

यो देशको संविधान, कानुनअनुसार नागरिकता लिएको छु । मैले चोरेको होइन, किनेको होइन, म विदेशी होइन । मैले राजनीतिकर्मी साथीहरूलाई पटक–पटक भनेको छु । तर, पनि यो कुरा पटक–पटक उठाउनु नालायकीपन हो । यो पूर्वाग्रह हो, गैरजिम्मेवारीपन हो । आन्दोलनलाई ओझेलमा पार्ने, आन्दोलनलाई समाप्त पार्न नागरिकताको मुद्दा उठाइएको छ । यो संवेदनशील कुरामा धेरै के बोल्ने ? यस्तो बोल्दा अरूलाई मजाक लाग्छ ।

नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *